Monday, May 13, 2013

काठमाडौ, वैशाख ३१ - अख्तियार प्रमुखमा लोकमानसिंह कार्की नियुक्तिको विरोधमा ३३ दलले अख्तियारअघि प्रदर्शन गर्ने तय भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । अख्तियार क्षेत्रमा ठूलो संख्यामा सशस्त्र तथा जनपथ प्रहरी तैनाथ गरिएको छ । आयोगका पदाधिकारीहरु सुरक्षा स्कर्टिङमा बिहान ८ बजे कार्यालय आइपुगेका छन् । कर्मचारी हरुलाई पनि त्यसै अनुसार आउनलाई हिजै निर्देशन दिइएको थियो । नियुक्तिको विरोधमा मंगलबार बिहान ९ देखि ११ बजेसम्म हुने घेराउका क्रममा प्रदर्शनकारीलाई रोक्न कार्कीले सोमबार उच्च प्रहरी अधिकारीहरूलाई मुख्यालयमा बोलाई निर्देशन दिएका थिए । सोमबार अपराह्न ३ बजे उपत्यकाका सुरक्षा निकाय प्रमुखलाई अख्तियारमा डाकेर कार्कीले सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन् । निर्देशनअनुसार घेराउ गर्न जाने ३३ दलका प्रतिनिधिलाई अख्तियारको ढोकासम्म पुग्न दिइने छैन । 'महाराजगन्जतर्फबाट आउनेलाई भाटभटेनीअघि नै कर्डन गरेर रोकिनेछ,' एक सुरक्षा अधिकृतले भने, 'नक्सालबाट जानेलाई प्रहरी मुख्यालयको कर्नरमा रोकिनेछ ।' त्यसका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी उत्तमराज सुवेदी र डीएसपी चन्द्रकुबेर खापुङ खटिने स्रोतले बतायो । 'अप्रिय घटना हुन नदिन संयमित भएर सुरक्षा गर्न प्रमुख आयुक्तले निर्देशन दिनुभएको छ,' अर्का प्रहरी अधिकृतले भने, 'घेराउमा विद्यार्थीहरू पनि हुने भएकाले उनीहरू उत्तेजित हुँदा अपि्रय घटना नहोस् भन्ने धारणा थियो ।' प्रमुख आयुक्त कार्कीकहाँ महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुख एआईजी नवराज ढकाल, ट्राफिक महाशाखा प्रमुख डीआईजी उपेन्द्रकान्त अर्याल, आयुक्तकै एसएसपी हेमन्तबहादुर पाल, महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थ, काठमाडौं परिसर एसपी उत्तमराज सुवेदीलगायत अधिकृत पुगेका थिए । घेराउमा कति मान्छे आउँछन् ? घेराउका कारण सवारीसाधन आवतजावतमा कठिनाइ हुने/नहुने विषयमा टोलीले बैठकपछि स्थलगत भ्रमणसमेत गरेको थियो । अख्तियार परिसरसामु चल्ने निजी र भाडाका सवारी साधनको रुट परिवर्तन गर्ने, घेराउ गर्न आउनेलाई सडकछेउ राख्नेलगायत सुरक्षा योजना बनाइएको छ । सुरक्षाकर्मीबाहेक अख्तियारका कर्मचारीलाई बिहान ८ बजे नै कार्यालय आउन निर्देशन दिइएको स्रोतले बतायो ।


Wednesday, May 8, 2013

चितवन, बैशाख २५ – करिब एक करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले हिमालयन बैंक लिमिटेड नारायणगढ शाखाका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । बैंकका सुपरभाईजर चितवन भरतपुर ९ बस्ने ४२ बर्षका शेरबहादुर थापा र कनिष्ट सहायक पदमा कार्यरत नवलपरासी गैडाकोट २ बस्ने बर्ष २७ का प्रकाश बराल पक्राउ परेका हुन् । हिमालयन बैंकले थापा र बरालले करिव एक करोड रुपैया हिनामिना गरेको जाहेरी दिएपछि दुबै जनालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । युरोपेली मुलुक साईप्रसमा रहेकी चितवन जुटपानी २ की टुंग कुमारी घिमिरेल बैंकमा जम्मा गरेको ४४ लाख र बैंकको समेत गरी एक करोड हिनामिना भएको उजुरीमा उल्लेख छ । उनीहरुमाथि बैंकिङ कसुर अपराध मुद्दा अन्तर्गत अनुसन्धान भैरहेको छ ।


Monday, May 6, 2013

मलेसीयामा जारी एसिसी यु १९ एलिटकप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा बहराइनलाई ११६ रनको फराकीलो अन्तरले हराउँदै सेमीफाइनलमा स्थान पक्का गरेको छ । सोमबार नेपालका अभिनास कर्ण चम्कदा बहराइन सस्तैमा समेटीएको हो। टस जितेर पहिले ब्याटिङ गरेकेा नेपालले निर्धारीत ५० ओभरको खेलमा ९ विकेट गुमाउदै २५९ बनाएको थियो। नेपालका लागि कप्तान भुवन कार्कीले ८३ रनको महत्वपूर्ण इनि खेलेका थिए। उनले ६३ बल खेल्दै तीन छक्का र ८ चौका प्रहार गरेका थिए। यस्तै विवत्सु थापाले ४४ रन बनाएका थिए। निश्चल पाण्डे १६ र अमित श्रेष्ठ २२, हरिशंकर शाह, १०, निर्मल थापा २५, पवन श्रेष्ठले १३ रन जोडेका थिए । १६० रनको विजयी लक्ष्य लिएर मैदानमा आएको बहराइनले अभिनास कर्णले ह्याट्रीक सहित ८ विकेट लिएपछि २१ ओभरमा अल आउट हुँदै ६३ रन मात्र बनाउन सक्यो। यस्तै भुवन काकर्ि र राहुल प्रताप सिंहले एक एक विकेट बाढेका थिए। यु १९ क्रिकेटमा नेपालका पहिलो ह्याट्रीक सहित सर्वाधिक विकेट पहिलो हो भने अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ह्याट्रीक हो।


Saturday, May 4, 2013

नेपालले लगातार दोस्रो जित हासिल गर्दै आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन-३ को शीर्ष दुईमा स्थान बनाउने गणितीय सम्भावना जीवित राखेको छ । नेसनल क्रिकेट मैदानमा भएको खेलमा नेपालले बिहीबार ओमानलाई २८ रनले हरायो र डिभिजन-२ पुग्ने सम्भावना कायम राख्यो । नेपालले शीर्ष दुईमा स्थान बनाउन अझै अरूको खेलमा भर पर्नुपर्नेछ । युगान्डाले अमेरिकालाई ८२ रनले हराएपछि नेपालको गणितीय सम्भावना बनेको हो । अब समूहको अन्तिम खेलमा अमेरिका बर्मुडासँग पराजित भए रनरेटका आधारमा नेपाल शीर्ष दुई पुग्न सक्नेछ । त्यसका लागि नेपालले इटालीलाई राम्रो रनरेटमा हराउनुपर्नेछ । लगातार चार खेल जितेको युगान्डा आठ अंकसहित विश्वकप छनोट चरणमा स्थान बनाउन सफल भइसकेको छ । अमेरिका दोस्रोमा छ । नेपालको चार खेलबाट चार अंक छ । नेपाल इटालीसँग पराजित भएमा र बर्मुडाले अमेरिकालाइ राम्रो रनरेटमा पराजित गरे बर्मुडा डिभिजन-२ मा पुग्नेछ । अघिल्लो खेलमा घरेलु टिम बर्मुडालाई आठ विकेटले पराजित गरेको नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । नेपाली प्रारम्भिक जोडीले फेरि निराश बनाए । दोस्रो ओभरमा नेपालले खाता मात्र खोल्दा सुवास खकुरेल व्यक्तिगत एक रनमा पेभेलियन फर्किए । अनिल मण्डलसँग मिलेर उपकप्तान ज्ञानेन्द्र मल्लले इनिङ्स उकासे । ज्ञानेन्द्र ३४ रनमा लालचेताको बलमा क्याचआउट भए । 'म्यान अफ द म्याच' ज्ञानेन्द्रले ४९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । त्यसपछि अनिलले ३९ बलमा सात रन बनाए र मुनिस अन्सारीको बलमा क्याच हुन पुगे । टिम ९१ रनमा हुँदा अर्को विकेट गुमायो । कप्तान पारस खड्का २८ रनमा अमीर कलिमको बलमा एलबीडब्लू भए । शरद भेषावकर पनि २७ रन बनाउँदा बाहिरिएपछि नेपालले एक सय १७ रनमा पाँच विकेट गुमाएको थियो । शरद लङ-अफमा हेमल महेताका बलमा क्याचआउट भए । नेपालले पूरा ओभर नखेल्ने संकेत देखिए पनि विनोद भण्डारीले ३२ रन जोड्दै स्कोर उकासे । नेपालले नौ विकेट क्षतिमा १ सय ६० रनमात्र बनाउन सक्यो । ओमान ४६ ओभर चार बलमा एक सय ३२ रनमा समेटियो । स्पिनरलाई साथ दिने पिचमा नेपाली खेलाडीले ओमानलाई खुल्न दिएनन् । ओमानका लागि वैभव वातेगान्करले सर्वाधिक २७ रन बनाए । एक सय रन हुँदा पाँच विकेट गुमाएको ओमान ३५ ओभरसम्म खेल आपmनो नियन्त्रणमा राख्न सफल भयो । अमीर कलिमलाई पारसले ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट गराएपछि नेपाल खेलमा फर्कियो । ओमानलाई कम स्कोरमा रोक्ने क्रममा सञ्जम रेग्मी र वसन्त रेग्मीले दुई- दुई विकेट लिए । यस्तै पारस, पृथु बाँस्कोटा र शक्ति गौचनले एक-एक विकेट लिए । खेलपछि टिमका कप्तान पुबुदुले खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए । 'आज खेलाडीले राम्रो प्रदर्शन गरे, सुरुवाती दुई खेलका कारण अझै नेपालको सम्भावना जीवित छ,' प्रशिक्षक पुबुदु दसानायेकेले भने, 'अब हामीले अर्को खेलमा जित चाहिन्छ । आपmनो खेलमा राम्रो गर्नुपर्छ । अरूमा भर परेर हँुदैन ।' कप्तान पारस खड्का पनि टिमको प्रदर्शनमा सन्तुष्ट देखिए । 'ओपनिङ जोडी फेरि असफल भयो, कुनै खेलमा चल्ने कुनैमा नचल्ने हुन्छ नै । हामीलाई जित्नु थियो । जित्यौं, खुसी छौं । विकेट स्पिनरलाई साथ दिने भएकाले नेपाली बलरले राम्रो गरे,' उनले भने । युगान्डा बढुवा, इटाली रेलिगेट लगातार चार खेलमा जित निकाल्दै युगान्डा डिभिजन-२ मा उक्लने पहिलो टिम बनेको छ । चार खेलबाट आठ अंक बनाएको युगान्डाले बर्मुडालाई एक सय १४ रन, नेपाललाई छ विकेट, इटालीलाई २३ रन र अमेरिकालाई ८२ रनले हराएको थियो । इटाली भने रेलिगेसनमा परेको छ । लगातार चार खेल गुमाएको इटाली अंकविहीन छ ।


Wednesday, May 1, 2013

अखाद्य पदार्थ हालेर पकाएको आँप जनकपुर बजारमा व्यापक रूपमा बिक्री हुने गरेकाले यसको प्रयोगले उपभोक्ताहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको छ । कार्वाइड(कार्वन) नामक रसायन प्रयोग गरी पकाइएका आँप खानाले पेटमा असर गर्नुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने चिकित्सकहरू बताउँछन् । कार्वाइड नामक रसायन काँचो आँपमा राख्नाले २४ घण्टामै पाक्ने गरेकाले व्यापारीहरूले बढी आर्थिक लाभको कारण यस्तो आँप ल्याएर बजारमा बेच्ने गरेको पाइएको छ । प्राकृतिक रूपमा आँप पाक्ने मौसम अहिले नभएकाले सो रसायन हाली पकाइएको आँप खाँदा पेट दुख्ने, वान्ता हुने जस्ता रोगहरू लाग्न गइ स्वास्थ्यामा प्रतिकुल असर पर्ने गरेको चिकित्सक डा सुरेन्द्रकुमार कर्णले बताए । भारतको दिल्ली, कोलकाता, मद्रासलगायतका बजारबाट दैनिक जनकपुर बजारमा अहिले रु सात लाख ५० हजार मूल्य बराबरको १५ टन आँप आउने गरेको जनकपुर फलफुल व्यवसायी सङ्घले जनाएको छ । #source:ekantipur


Tuesday, April 30, 2013

‘सानो पर्दाका घरमा, चलचित्रका डेरामा’ सूर्यकुमार क्षेत्री/ उज्यालो । काठमाडौं – धेरैलाई लाग्न सक्छ नेपालका प्रायजसो नायक नायिकाले घरघडेरी र गाडी जोडीसके । तर नेपाली चलचित्र उद्योगमा राम्रैसँग जमेका धेरै कलाकारको बास अहिले डेरामै छ । त्यसो त डेरामा बस्नु र पैसा कमाउनु फरक कुरा हुन् । तर डेरालाई एउटा आधार मान्ने हो भने धेरै नेपाली कलाकारको कमाई सन्तोषजनक छैन । चर्चामा आएर देश विदेश चहारेका नायक, नायिका अहिले महिनैपिच्छे घरधनीलाई भाडा बुझाउँदै बसेका छन् । ठूलो पर्दामा सुकिला, मुकिला र सभ्रान्त देखिने कलाकारलाई मासिक भाडा बुझाउन धौं धौं भएका बेला सानो पर्दा अर्थात टेलिश्रृंखलाका कलाकारले भने घर गाडी जोडिसके । हाँस्य टेलिश्रृखंलामा अभिनय गर्ने कतिपय नाम चलेका कलाकारका काठमाडौंमा भव्य महल र गाडी छन् । ‘तितो सत्य’ का दीपकराज गिरी, दीपाश्री निरौला, ‘मेरी बास्सै’ का केदार घिमिरे (माग्ने बुढा) सिताराम कट्टेल (धुर्मुश), ‘जिरे खुर्सानी’ का जितु नेपाल (मुन्द्रे) मनोज गजुरेललायतका कलाकारको जीवनस्तर अभिनय बाट नै बदलिएको छ । टेलिभिजनमा प्रसारण हुने हाँस्य टेलिश्रृखंला र देश बिदेशमा हुने स्टेज कार्यक्रमले उनीलाई मनग्गे दाम कमाउने अवसर जुटायो । अभियनकै भरमा मेरी बास्सैका माग्ने बुढाले पाँच बर्षअघि ललितपुरको इमाडोलमा साढे दुई तले घर ठड्याइसकेका छन् । धुर्मुशको धापाखेलमा, दीपकराज गिरीको एयरपोर्टमा, जितु नेपालको नरेफाँटमा र मनोज गजुरेलको बालकोटमा घर छ । केदार घिमिरे ‘माग्ने बुढा’ भन्छन्, ‘काठमाडौंमा बाँचेर घर बनाउन धेरै गाह्रो छ । देश बिदेशको कार्यक्रमले मलाई निक्कै सघायो ।’ ठूलो पर्दाका डेरामा ठूलो पर्दा अर्थात चलचित्रमा अभिनय गर्ने हिरो हिरोइन अझै डेरामै छन् । आफू अभिनित आधा दर्जन भन्दा धेरै फिल्म हिट भएका नायक आर्यन सिग्देलको बास अहिले पनि डेरामा छ । फ्ल्याट लिएर बसेका सिग्देल व्यस्त नायकमा पर्छन् । सिग्देल मात्रै हैन त्यसरी नै चलेका जीवन लुईटेल, राजवल्लभ कोइराला, सुमनसिंह पनि डेरामै बस्छन् । नायिका पनि उस्तै नायक मात्र हैन नायिकाको अवस्था पनि त्यस्तै छ । चलेका नायिकाहरु नम्रता श्रेष्ठ, ऋचा शर्मा, सुष्मा कार्की, नन्दिता केसी पनि डेरामै बस्छन् । पछिल्लो समयमा चलेका कलाकारको मात्र यो अवस्था हैन, झण्डै दुई दशक सिनेमा क्षेत्रमा बिताएका धेरै अभिनेताको अवस्था नाजुक छ । राते काँइला नामले परिचित अभिनेता सुनिल थापाको बसाई डेरामा नै छ । सुनिल थापा काठमाडौंको थापागाउँमा भाडामा बस्न थालेको बर्षौ भयो । थापासँगै सिनेमा क्षेत्रमा लागेका अर्का कलाकार दीपक क्षेत्रीको हालत पनि त्यही हो । क्षेत्री अझैसम्म पनि एउटा कोठामै दिन गुजार्दै आएका छन् ।