Monday, May 13, 2013

काठमाडौ, वैशाख ३१ - अख्तियार प्रमुखमा लोकमानसिंह कार्की नियुक्तिको विरोधमा ३३ दलले अख्तियारअघि प्रदर्शन गर्ने तय भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । अख्तियार क्षेत्रमा ठूलो संख्यामा सशस्त्र तथा जनपथ प्रहरी तैनाथ गरिएको छ । आयोगका पदाधिकारीहरु सुरक्षा स्कर्टिङमा बिहान ८ बजे कार्यालय आइपुगेका छन् । कर्मचारी हरुलाई पनि त्यसै अनुसार आउनलाई हिजै निर्देशन दिइएको थियो । नियुक्तिको विरोधमा मंगलबार बिहान ९ देखि ११ बजेसम्म हुने घेराउका क्रममा प्रदर्शनकारीलाई रोक्न कार्कीले सोमबार उच्च प्रहरी अधिकारीहरूलाई मुख्यालयमा बोलाई निर्देशन दिएका थिए । सोमबार अपराह्न ३ बजे उपत्यकाका सुरक्षा निकाय प्रमुखलाई अख्तियारमा डाकेर कार्कीले सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन् । निर्देशनअनुसार घेराउ गर्न जाने ३३ दलका प्रतिनिधिलाई अख्तियारको ढोकासम्म पुग्न दिइने छैन । 'महाराजगन्जतर्फबाट आउनेलाई भाटभटेनीअघि नै कर्डन गरेर रोकिनेछ,' एक सुरक्षा अधिकृतले भने, 'नक्सालबाट जानेलाई प्रहरी मुख्यालयको कर्नरमा रोकिनेछ ।' त्यसका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी उत्तमराज सुवेदी र डीएसपी चन्द्रकुबेर खापुङ खटिने स्रोतले बतायो । 'अप्रिय घटना हुन नदिन संयमित भएर सुरक्षा गर्न प्रमुख आयुक्तले निर्देशन दिनुभएको छ,' अर्का प्रहरी अधिकृतले भने, 'घेराउमा विद्यार्थीहरू पनि हुने भएकाले उनीहरू उत्तेजित हुँदा अपि्रय घटना नहोस् भन्ने धारणा थियो ।' प्रमुख आयुक्त कार्कीकहाँ महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुख एआईजी नवराज ढकाल, ट्राफिक महाशाखा प्रमुख डीआईजी उपेन्द्रकान्त अर्याल, आयुक्तकै एसएसपी हेमन्तबहादुर पाल, महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थ, काठमाडौं परिसर एसपी उत्तमराज सुवेदीलगायत अधिकृत पुगेका थिए । घेराउमा कति मान्छे आउँछन् ? घेराउका कारण सवारीसाधन आवतजावतमा कठिनाइ हुने/नहुने विषयमा टोलीले बैठकपछि स्थलगत भ्रमणसमेत गरेको थियो । अख्तियार परिसरसामु चल्ने निजी र भाडाका सवारी साधनको रुट परिवर्तन गर्ने, घेराउ गर्न आउनेलाई सडकछेउ राख्नेलगायत सुरक्षा योजना बनाइएको छ । सुरक्षाकर्मीबाहेक अख्तियारका कर्मचारीलाई बिहान ८ बजे नै कार्यालय आउन निर्देशन दिइएको स्रोतले बतायो ।


No comments:

Post a Comment